ओखलढुंगामा श्रृंखलाबद्ध हत्या तथा लुटपाटमा संलग्न समूह पक्राउ – Sagarmathapana:: Online News Portal

ओखलढुंगामा श्रृंखलाबद्ध हत्या तथा लुटपाटमा संलग्न समूह पक्राउ

   २०८२ पुष २० गते  

काठमाडौं।ओखलढुंगाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा हत्या तथा लुटपाटमा संलग्न एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगाको चिसाङ्ग गाउँपालिका–३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नं. ४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल तथा वडा नं. ८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन्।

प्रहरीका अनुसार यही पुस १५ गते साँझ करिब ८ बजेको समयमा चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँस्थित किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको निर्मम हत्या गरिएको थियो।

हत्या गर्न प्रयोग गरिएका कोदालो तथा अन्य धारिलो हतियारले दुवै जनाको दाहिने कन्चट र कानको भागमा प्रहार गरिएको प्रहरीले जनाएको छ। हत्या पश्चात् शवलाई गोठमा लगेर स्याउलाले छोपिएको अवस्थामा फेला पारिएको थियो।

घटनापछि अभियुक्तहरूले पसल तथा कोठामा रहेको करिब १ लाख रुपैयाँ नगद, २ तोला सुनका गरगहना र करिब ६ तोला काँचो सुनसमेत लुटपाट गरी फरार भएका थिए।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ। यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै