हलेँसी–तुवाचुङ–८ धितुङको स्वास्थ्य चौकीले आफ्नै भवनबाट सेवा सुरु
खोटाङ।खोटाङको हलेँसी तुवाचुङ नगरपालिका–८, धितुङमा रहेको स्वास्थ्य चौकीले आफ्नै सुविधासम्पन्न भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। यसअघि तत्कालीन गाउँ विकास समिति (गाविस)को पुरानो कार्यालय भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीले सोमबारदेखि नयाँ भवनबाट सेवा सुरु गरेको हो।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्य चौकीको दुईतले पक्की भवनको भुइँतलामा पाँच र माथिल्लो तलामा चार गरी जम्मा नौ कोठा रहेका छन्। आर्थिक वर्ष ०८१/८२ मा ७२ लाख रुपैयाँ बजेटमा ठेक्कामार्फत भवन निर्माण सुरु गरिएको भए पनि काम समयमै सम्पन्न हुन नसकेपछि आर्थिक वर्ष ०८२/८३ मा नगरपालिकाले ३५ लाख ३४३ रुपैयाँ बजेट विनियोजन गरी उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो।


नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा कुल एक करोड सात लाख ३४३ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको सोमबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क चार रोपनी जग्गा उपलब्ध गराउने शिवराज राई, एक रोपनी जग्गा उपलब्ध गराउने स्वर्गीय रणशेर राईका जेठा छोरा डिल्ली राई तथा लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका निर्वाह गर्दै आएकी इमानसरी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यसैबीच, पुरानो स्वास्थ्य चौकीको भवनमा सञ्चालित नगर अस्पतालका लागि संघीय सरकारको लगानीमा १५ शय्याको सुविधासम्पन्न अस्पताल भवन निर्माणको कामसमेत तीव्र गतिमा भइरहेको नगरपालिकाले जनाएको छ। निर्माणाधीन अस्पताल सञ्चालनमा आएपछि हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेँसीमा आउने तीर्थयात्री तथा पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको छ।












