डिजिटल रूपान्तरणमा अग्रणी एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५
काठमाडौं।एनएमबि बैंक लिमिटेडले डिजिटल प्रविधिमार्फत उत्कृष्ट सेवा प्रवाह गरेको योगदानको कदरस्वरूप डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ।
डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गर्दै सार्वजनिक तथा वित्तीय सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थालाई प्रदान गरिने उक्त अवार्ड एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरण यात्रामा हासिल गरेको उल्लेखनीय सफलताका कारण प्राप्त गरेको हो।


एनएमबि बैंकले आधुनिक डिजिटल माध्यमहरूको अधिकतम प्रयोग गर्दै ग्राहककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ। डिजिटल बैंकिङ सेवा, मोबाइल तथा अनलाइन प्लेटफर्ममार्फत बैंकले आफ्ना सेवाहरूलाई थप सरल र सुरक्षित बनाएको मूल्यांकनका आधारमा यो सम्मान प्रदान गरिएको हो।
उक्त अवार्डले एनएमबि बैंकको डिजिटल नवप्रवर्तन, प्रविधिमैत्री सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बैंकले जनाएको छ।
हाल एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई उच्चस्तरीय तथा विश्वसनीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
डिजिटल बैंकिङ क्षेत्रमा निरन्तर नवप्रवर्तन गर्दै आएको एनएमबि बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र समावेशी डिजिटल सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।













