खोटाङमा बजेट र विकास योजनाबारे प्रश्न उठाउँदा युवा माथि कुटपिट, ज्यान मार्ने प्रयासको आरोप – Sagarmathapana:: Online News Portal

खोटाङमा बजेट र विकास योजनाबारे प्रश्न उठाउँदा युवा माथि कुटपिट, ज्यान मार्ने प्रयासको आरोप

   २०८२ पुष ४ गते  

खोटाङ,दिक्तेल-खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, निर्मलीडाँडामा स्थानीय सरकारको विकास बजेट र अघिल्लो आर्थिक वर्षका योजनाबारे प्रश्न उठाउँदा एक युवा माथि कुटपिट तथा ज्यान मार्ने प्रयास भएको आरोप लागेको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल हुँदै हाल जिल्ला समिति सदस्य रहेका जोशी राईले स्थानीयवासी तथा युवा राजकुमार राई
लाई कुटपिट तथा ज्यान मार्ने प्रयास गरेको छ।प्राप्त जानकारी अनुसार पीडित युवाले वडामा विनियोजन गरिएको स्ट्रिप बजेट, अघिल्लो वर्षका अधुरा विकास योजना किन सम्पन्न नभएको, बजेट किन ‘फ्रिज’ भएको तथा चालु आर्थिक वर्षमा कुन–कुन शीर्षकमा बजेट खर्च भइरहेको छ भन्ने विषयमा प्रश्न उठाएका थिए।


तर, विकास र बजेटसम्बन्धी सामान्य जिज्ञासा राखेकै कारण आफूलाई हातपात मात्र होइन,
ज्यान मार्ने प्रयाससम्म गरिएकोपीडितको दाबी छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ, जसमा आक्रमण स्पष्ट देखिने बताइएको छ।

घटनापछि पनि स्थानीय सरकार, जनप्रतिनिधि तथा प्रशासनको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया नआएको भन्दै स्थानीयवासी तथा युवा पुस्ताले आक्रोश व्यक्त गरेका छन्। “विकासबारे सोध्नु गल्ती हो ? जनप्रतिनिधिलाई प्रश्न गर्न पाउनु नागरिकको अधिकार होइन र ?” भन्ने प्रश्न स्थानीय स्तरमा उठ्न थालेको छ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। “यदि जनताले प्रश्न गर्न नपाउने, नेताहरू र कथित गुण्डाहरूले जे भने पनि मान्नुपर्ने हो भने, यो देशमा कानुनको अर्थ के रहन्छ ?” पीडितको प्रश्न छ।

घटनाले खोटाङमा सुशासन, जवाफदेहिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाएको छ। पीडितको आवाज कसले सुन्ने ? भन्ने प्रश्न अहिले आम नागरिकको साझा चासोको विषय बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै