फोनिज गण्डकीको ‘निट पत्रकारिता पुरस्कार’ पत्रकार भरत कोइरालालाई
पोखरा।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशद्वारा सञ्चालन गरिएको ‘निट पत्रकारिता पुरस्कार’बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।
निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोइरालालाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन् ।


फोनिज गण्डकीको समन्वयमा निट डेन्टल केयरले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी पत्रकारिता पुरस्कार सञ्चालन गरेको हो । कोइराला हाल समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्युज डटकमका सम्पादक रहेका छन् ।
कार्यक्रममा बोल्दै मेयर आचार्यले फोनिजले स्थापना गरेको पुरस्कार गैरफोनिज समुदायका पत्रकारलाई प्रदान गरिनुले समावेशी समाज निर्माणको सन्देश दिएको बताए । निराशा व्याप्त समाजमा सही सूचना प्रवाहमार्फत योगदान पुर्याउने पत्रकारको सम्मानले पत्रकारिताप्रति सकारात्मक ऊर्जा थपिएको उनको भनाइ थियो ।
स्याङ्जाको पुतलीबजार निवासी कोइरालाले २०५९ सालदेखि अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनी २०६५ सालदेखि पोखरालाई कर्मथलो बनाएर सक्रिय छन् । उनले लेकसिटी कलेज र भद्रकाली माध्यमिक विद्यालयमा अध्यापनसमेत गर्दै आएका छन् । यसअघि उनी पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् ।
पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै कोइरालाले सबल र नैतिक निजी क्षेत्र बिना व्यावसायिक पत्रकारिता बलियो हुन नसक्ने धारणा व्यक्त गरे । निजी क्षेत्रको लगानीबाट रोजगारी सिर्जना र सरकारी आम्दानी बढेको पक्षलाई नजरअन्दाज गर्न नहुने उनले बताए ।
उनले पत्रकारिता क्षेत्र हाल संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा परेको उल्लेख गरे । विज्ञापन बजार खुम्चिँदा धेरै मिडिया हाउस बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा पुगेको र गण्डकी प्रदेशमा अनलाइन मिडियाको संख्या बढे पनि गुणस्तरीय र दिगो सामग्री उत्पादन चुनौतीपूर्ण रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले फोनिजको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारले प्राप्त गर्नु सकारात्मक संकेत भएको बताए । पोखरामा वेलनेस टुरिजमको सम्भावना बढ्दै गएको उल्लेख गर्दै उनले दाँत उपचार सेवामा निट डेन्टलले गण्डकीमै आफ्नो पहिचान बनाउन सफल होस् भन्ने शुभकामना दिए ।
निट डेन्टल केयरका प्रबन्ध निर्देशक **वीरबहादुर राना (वीरेन)**ले केही नयाँ र सकारात्मक काम गर्ने उद्देश्यले पत्रकारिता पुरस्कार स्थापना गरिएको स्पष्ट पारे । ‘यसबाट पत्रकारिता क्षेत्रबाट कुनै प्रतिफल लिने सोच छैन,’ उनले भने ।
पुरस्कार छनोटका लागि फोनिज संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर सदस्य थिए ।
फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धनबहादुर गुरुङ र कार्यक्रम सञ्चालन गरेका महासचिव सुरज थापामगरले पनि मन्तव्य राखेका थिए ।
पोखराको महेन्द्रपुलस्थित निट डेन्टल केयरले आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत चिकित्सक तथा कर्मचारीलाई समेत सम्मान गरेको छ ।












