सैनिक अस्पताल परिसरमा नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा १०० वृक्षारोपण – Sagarmathapana:: Online News Portal

सैनिक अस्पताल परिसरमा नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा १०० वृक्षारोपण

   २०८२ मंसिर २५ गते  

इटहरी- नेपाल रेडियोलोजिष्ट एसोसियसनले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा इटहरीस्थित सैनिक अस्पताल परिसरमा १०० वटा बिरुवा रोपेर हरित पहल अघि बढाएको छ।

बिहान ७ देखि ८ बजेसम्म सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रममा एसोसियसनका अध्यक्ष डा. तेजेन्द्र कार्की, पदाधिकारीहरू, सैनिक अस्पतालका कमाण्डान्ट महासेनानी प्रा. डा. कुमार रोका तथा अस्पतालका चिकित्सक-कर्मचारीहरू सक्रिय रूपमा सहभागी भए।

आयोजक संस्थाका अनुसार, यो अभियान केवल औपचारिक कार्यक्रम मात्र नभई हरेक व्यक्तिले वर्षमा कम्तीमा एक पटक वृक्षारोपण गर्ने संस्कार बसाल्नुपर्ने संदेशसहित आयोजना गरिएको हो।

बढ्दो प्रदूषण, तातो हुँदै गएको मौसम र हरित क्षेत्र घट्दै जाँदा, प्रत्येक नागरिकले आफ्नो स्वास्थ्य तथा वातावरण सुरक्षाका लागि सानो तर प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता बढिरहेको एसोसियसनले बताएको छ।

“एक व्यक्ति, एक वर्ष, एक बिरुवा” अभियानजस्तै सरल अभ्यास अपनाउन सके समाजमा ठूलो सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

स्थापना दिवसलाई सामाजिक दायित्वसहित अर्थपूर्ण बनाउन गरिएको वृक्षारोपणले सैनिक अस्पताल परिसरलाई थप स्वच्छ, हरियालीपूर्ण र सुव्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

एसोसियसनले यस्ता उदाहरणीय गतिविधिले समुदायमा वातावरण प्रतिको जिम्मेवारीबोध अझ बढाउने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै