भोटखोलामा आगजनी : पूर्व वडाध्यक्ष सहित पाँच जनाविरुद्ध जाहेरी,एक पक्राउ
संखुवासभा।संखुवासभा जिल्लाको भोटखोला गाउँ पालिका–४ सेक्शिला ओक्थि गाउँमा स्थानीयको घरमा आगजनी गराएको आरोपमा पूर्व वडाध्यक्षसहित पाँच जनाविरुद्ध आपराधिक उपद्रव मुद्दामा जाहेरी परेको छ।जिल्ला प्रहरी कार्यालय संखुवासभामा सोमबार पीडित पक्षले उजुरी दर्ता गराएको हो।

जाहेरीअनुसार भोटखोला–४ का पूर्व वडाध्यक्ष किन्साङ भोटे, गुरु भोटे, छिरि पासा भोटे, हिमाल भोटे र निमा भोटेलाई घरमा आगो लगाएको आरोप छ।तीमध्ये छिरि पासा भोटेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ।
गत मंसिर १९ गते राति बिहेको कार्यक्रममा भएको वादविवाद झगडामा परिणत भएपछि केही व्यक्तिले डुप्साङ लिङ्बो भोटेको घरमा पेट्रोल छर्की आगो लगाएको आरोप छ।राति करिब ११:४५ बजे बाहिरबाट आगो लगाइएका कारण आगलागीमा परेर डुप्साङ भोटे र उनकी ३२ वर्षीया श्रीमती साङ्मु भोटे घाइते बनेका थिए।

गम्भीर घाइते साङ्मुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएर हाल HAMS अस्पतालमा उपचार जारी रहेको स्थानीय निमा भोटेले बताए।आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको घर पूर्णरूपमा नष्ट भएको पीडित डुप्साङ भोटेले उल्लेख गरेका छन्। उनले घरको क्षति र दम्पतीको उपचार खर्च आरोपितबाटै असुल गरिनुपर्ने माग गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












