पानबारी हिमालमा हराएका दुई इटालियन आरोहीका शव फेला
काठमाडौँ।पानबारी हिमाल (६,८८७ मिटर) आरोहणका क्रममा हराएका दुई इटालियन आरोही-फर्रोनातो स्टेफानो र कापुटो आलेस्सान्द्रो का शव फेला परेका छन्।ती दुवैको शव क्याम्प–१ (५,२०० मिटर) मा भेटिएर काठमाडौँ ल्याइएका छन्।
दुवै आरोही सर्पा अल्पाइन ट्रेकिङ सर्भिस प्रा. लि. द्वारा आयोजना गरिएको इटालियन पानबारी Q7 अभियान का सदस्य थिए।तीहरू अक्टोबर २८ (कात्तिक १२) मा भारी हिमपातपछि सम्पर्कविहीन भएका थिए।


उनीहरूको खोज तथा उद्धार कार्य नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (NNMGA) ले टेक्निकल डाइरेक्टर तथा मिशन समन्वयक पासाङ काजी शेर्पाको नेतृत्वमा सञ्चालन गरेको हो।उद्धार टोलीमा NNMGA/IFMGA गाइड नरेना शाही र NNMGA गाइड कुसाङ शेर्पा सहभागी थिए। साथै, इटालियन टोलीका नेता भाटर पेरलिओनको सहयोगमा खोजी गरिएको थियो।
पासाङ काजी शेर्पाका अनुसार टोलीले RECCO प्रविधि प्रयोग गरेर आरोहीहरूको शरीर पत्ता लगाएको हो।“हामी हिजो दिउँसो १ बजे काठमाडौँबाट निस्केर सामागाउँ पुग्यौं र त्यहाँबाट बेस क्याम्पतर्फ अघि बढ्यौं।RECCO उपकरणमार्फत प्राप्त संकेतका आधारमा हामीले क्याम्प–१ मा गहिरो हिउँभित्र उनीहरूलाई फेला पार्यौं,” उनले बताए।
उद्धारकर्ताहरूले करिब ६ फिट हिउँ खनेर टेन्टभित्रै दुबै आरोहीको शव भेटेका थिए। उनीहरूको अवस्थाका आधारमा, मृत्यु तीनदेखि चार दिनअघि भएको अनुमान गरिएको छ।

शेर्पाले उद्धार समन्वयमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गरे। “यदि जानकारी समयमै आएको भए, हामीले स्थलमार्गबाटै उद्धार टोली पठाएर उनीहरूको ज्यान बचाउन सक्थ्यौं,” उनले भने।
उनका अनुसार NNMGA सँग आधुनिक उपकरणसहित तालिम प्राप्त उद्धार टोली छ,जसमा RECCO प्रविधिले शव पत्ता लगाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
फेला परेका दुवै आरोहीका शव पानबारी हिमालबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याई सम्बन्धित अधिकारीलाई आवश्यक प्रक्रिया पूरा गर्न हस्तान्तरण गरिएको छ।












