डब्लुटीएम-२०२५ मा नेपालले प्रस्तुत गर्‍यो जिम्मेवार र दिगो पर्यटनप्रतिको दृढ प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

डब्लुटीएम-२०२५ मा नेपालले प्रस्तुत गर्‍यो जिम्मेवार र दिगो पर्यटनप्रतिको दृढ प्रतिबद्धता

   २०८२ कार्तिक २१ गते  

काठमाडौं।लन्डनमा जारी विश्वकै प्रतिष्ठित पर्यटन मेला वर्ल्ड टुरिज्म मार्केट(डब्लुटीएम)-२०२५ मा नेपालले जिम्मेवार र दिगो पर्यटन विकासप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।नेपाल पर्यटन बोर्ड(एनटीबी)का प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले “सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिज्म थ्रु अ सर्कुलर इकोनमी” शीर्षकमा आयोजित अन्तर्राष्ट्रिय छलफल सत्रमा नेपालका पहल र नीतिगत प्रतिबद्धताहरू प्रस्तुत गरे।

सीईओ जोशीले नेपालले पर्वतीय र ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता,वातावरणीय उत्तरदायित्व र आर्थिक समावेशितालाई जोड दिँदै दिगो पर्यटन अभ्यासलाई अगाडि बढाइरहेको बताए।उनले भने,“नेपाल अब सतही ‘हरित’ पहलभन्दा अघि बढ्दै प्रणालीगत परिवर्तन तर्फ उन्मुख भएको छ। हामी वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपनबीच सन्तुलन कायम गर्न प्रतिबद्ध छौं।

कार्यक्रममा सहभागी विज्ञहरूले पर्यटन क्षेत्रले सर्कुलर इकोनमी (Circular Economy) को अवधारणा अंगालेर स्रोतहरूको पुनःप्रयोग, फोहोर न्यूनीकरण, न्यून–कार्बन यातायात प्रवर्द्धन, र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्ने उपायबारे छलफल गरेका थिए।

छलफलमा विश्वका विभिन्न देशका पर्यटन विज्ञ,नीति निर्माता र लगानी कर्ताहरूको सहभागिता रहेको थियो।ट्रोभ टुरिज्म डेभलपमेन्टद्वारा आयोजित यस सत्रले विश्व पर्यटन बजारमा तीव्र रूपमा विकसित हुँदै गइरहेका प्रवृत्तिहरू,कमजोर पूर्वाधार भएका गन्तव्यका चुनौतीहरू र नीति निर्माणमा स्थानीय समुदायको भूमिकाको आवश्यकता उजागर गरेको थियो।

वक्ताहरूले अब पर्यटन क्षेत्रले सतही ‘हरित’ कार्यक्रमहरूमा सीमित नभई वास्तविक र मापनयोग्य परिवर्तन ल्याउने कदमहरूमा ध्यान दिनुपर्नेमा जोड दिए।

नेपालले प्रस्तुत गरेको दृष्टिकोणले विश्व पर्यटन उद्योगमा नेपालको पहिचानलाई जिम्मेवार,पर्यावरणमैत्री र सामुदायिक सहभागितामूलक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै