दोलखामा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही,यात्रुलाई भाडा फिर्ता
दोलखा।दोलखामा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि प्रशासनले कडाइ गरेको छ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा १२ भन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


अनुगमन टोलीमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख र ट्राफिक प्रहरी प्रमुखको पनि सहभागिता थियो।
अनुगमनका क्रममा बढी भाडा लिने चालकहरूलाई तत्काल सचेत गराउँदै यात्रुहरूबाट असुलिएको अतिरिक्त भाडा फिर्ता गराइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न नियमित अनुगमनलाई अझ कडाइ गरिनेछ।
उनले भने, “भाडा तोकिएकै दरमा लिनु प्रत्येक सञ्चालकको दायित्व हो। नियम तोड्ने जो कोहीमाथि कानुनी कारबाही हुनेछ।”
प्रशासनको यो कदमले यातायात सेवामा पारदर्शिता र अनुशासन कायम गर्ने उद्देश्य राखेको जनाइएको छ।












