गरिमा विकास बैंकलाई ‘इर्मजिङ एसिया बैंकिङ अवार्ड’मा सम्मान

काठमाडौं।गरिमा विकास बैंक लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्शद्वारा प्रदान गरिने दक्षिण एसियाकै प्रतिष्ठित इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् २०२५ मा उत्कृष्टतासहित सम्मान प्राप्त गरेको छ।
भारतको नयाँ दिल्लीमा अगस्ट २९, २०२५ मा आयोजित तेस्रो संस्करणको कार्यक्रममा गरिमा विकास बैंकले द वेष्ट बैंक र वेष्ट एआइ/एमएल इम्प्लिमेन्टेसन विधामा विजेता बन्नुको साथै वेष्ट एमएसएमइ एक्सिलरेसन विधामा रनर अप अवार्ड समेत हात पारेको हो। यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता थियो।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए। यसअघि सन् २०२४ मा आयोजित दोस्रो संस्करणमा पनि गरिमा विकास बैंकले वेष्ट एसिस्ट म्यानेजमेन्ट विधामा रनर अपको उपलब्धि हासिल गरेको थियो।
बैंकका अनुसार यो सम्मानले ग्राहकलाई अझ सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको छ। साथै ग्राहक, नियमनकारी निकाय, शेयरधनी, शुभचिन्तक र कर्मचारीहरूलाई निरन्तर साथ र योगदानका लागि बैंकले आभार व्यक्त गरेको छ।
हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम र डिजिटल बैंकिङ सेवामार्फत सेवा विस्तार गरिरहेको छ।