भारत–चीन सम्झौताबारे गगन थापाको कडा आपत्ति-सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छ
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबीच लिपुलेक–कालापानी क्षेत्रलाई समेटेर गरिएको व्यापारिक सम्झौता अस्वीकार्य भएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपालकै भूमि प्रयोग गरेर गरिने कुनै पनि प्रकारको सहमति नेपालले स्वीकार गर्न नसक्ने स्पष्ट पारे।
“भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य छ,” थापाले विशेष सम्बोधनमा भने।
महामन्त्री थापाले चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने भन्दै यस विषयलाई घरेलु राजनीति बनाउन नहुनेमा जोड दिए। उनले नेपालका सबै राजनीतिक दलहरूलाई एकजुट भई राष्ट्रिय हितमा दृढतापूर्वक उभिन पनि आह्वान गरे।
उनले भने, “नेपालका सबै दलहरूले एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने प्रयास अस्वीकार गर्ने सन्देश दिनुपर्छ।”












