भारतले लिपुलेकमाथि नेपालको दाबी अस्वीकार, सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने अडान
काठमाडौं।भारतले लिपुलेक पास नेपालको सार्वभौम भूभाग भएको दाबीलाई अस्वीकार गरेको छ । बुधबार जारी वक्तव्यमा भारतको विदेश मन्त्रालयले बाँकी सीमा समस्याहरू समाधानका लागि भने संवाद र कूटनीतिक अन्तरक्रियामा खुला रहने जनाएको छ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले प्रस्तुत गरेको दाबी औचित्यपूर्ण वा ऐतिहासिक तथ्यमा आधारित नरहेको टिप्पणी गर्दै, “क्षेत्रीय दाबीहरूको एकपक्षीय कृत्रिम विस्तार भारतका लागि स्वीकार्य छैन” भनेका छन्।
उनका अनुसार भारत र चीनबीच लिपुलेक पासमार्फत सीमा व्यापार सन् १९५४ देखि सुरु भए पनि कोभिड र अन्य कारणले हालका वर्षहरूमा अवरुद्ध भएको थियो। उनले थपे, “दुवै पक्ष हाल पुनः यसलाई सञ्चालन गर्न सहमत भएका छन्।”
यो सहमति हालै नयाँ दिल्लीमा भएको चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको हो। भारत र चीनबीच जारी संयुक्त विज्ञप्ताअनुसार लिपुलेक पाससहित शिप्की ला पास र नाथु ला पासमार्फत सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ।
नेपालले भने लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो अभिन्न भूभागका रूपमा निरन्तर दाबी गर्दै आएको छ। सन् २०१९ मा भारतले कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुवै मुलुकबीच सीमा विवाद थप चर्किएको थियो।












