धरानमा सम्पन्न भयो ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ – Sagarmathapana:: Online News Portal

धरानमा सम्पन्न भयो ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’

   २०८२ भाद्र १ गते  

धरान।धरानस्थित पेडलर्स धरानको आयोजनामा वार्षिक ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज–२०८२’ आज सफलतापूर्वक सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्धन, स्वच्छ वातावरण र स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यसहित आयोजना गरिएको यस राइड बिहान ७ बजे भानुचोकबाट सुरु भई धरानका प्रमुख चोक तथा धार्मिक स्थल हुँदै धरान–१७ साकेला पार्कमा पुगेर सम्पन्न भएको हो। करिब ३२ किलोमिटर दूरीमा आयोजित प्रतियोगितामा दुई सयभन्दा बढी राइडर्सले सहभागिता जनाए।

पेडलर्स धरानका अध्यक्ष किसान मास्केका अनुसार यस कार्यक्रमले धरानका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। उनका अनुसार प्रत्येक सहभागीसँग लिइएको रु ३०० शुल्कबाट कोष संकलन गरी समाजसेवामुखी कार्यमा खर्च गर्ने गरिएको छ।

कार्यक्रम संयोजक विजय श्रेष्ठले संकलित रकम समाजसेवाका विभिन्न काममा प्रयोग हुँदै आएको जानकारी दिँदै गत वर्ष संकलित कोषबाट स्वास्थ्य केन्द्र र विद्यालयलाई आवश्यक सामग्री प्रदान गरिएको बताए।

यस वर्षको राइडमा सहभागीलाई स्मृति चिह्नस्वरूप टिसर्ट र प्रमाणपत्र वितरण गरिएको थियो। सुनसरीसँगै झापा, मोरङलगायतका जिल्लाबाट समेत सहभागिता जनाइएको आयोजकले जनाएका छन्।

धरानमा सन् २०१७ देखि नियमित रूपमा हरेक साउन महिनामा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ आयोजना हुँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै