हलेसी दर्शनबाट फर्किंदै गरेको माईक्रोबस दुर्घटना: एकको मृत्यु, १४ घाइते
खोटाङ-धार्मिक स्थल हलेसी महादेवको दर्शन गरेर फर्किंदै गरेको एक यात्रुबाहक माईक्रोबस दुर्घटनामा परेको छ। सिराहाबाट खोटाङको हलेसी तर्फको यात्रापछि फर्किंदै गरेको उक्त माईक्रोबस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०, जयरामघाट नजिकै आज दुर्घटनामा परेको हो।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरीका अनुसार माईक्रोबसमा १६ जना यात्रु सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरू गरिएको हो। हालसम्म दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको र घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ।
नोट: विस्तृत विवरण आउन बाँकी रहेकोले समाचार अपडेट हुँदै जानेछ।












