माओवादीमा प्रचण्डको विकल्प छैन”नेता मुक्ति प्रधान
काठमाडौं-नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको कुनै विकल्प नभएको दाबी गरेका छन्।
उनका अनुसार विगतमा पार्टीभित्र बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ जस्ता ठूला नेताहरू हुँदा पनि प्रचण्डको दस्तावेजको विकल्प प्रस्तुत गर्न कोही साहसी देखिएनन्। “उहाँहरूसमेत प्रचण्डविरुद्ध कुनै दस्तावेज लिएर आएका थिएनन्,” प्रधानले भने।
दस्तावेज नै नेता बनाउने आधार
मुक्ति प्रधानले माओवादी केन्द्रमा नीति नै नेतृत्व चयनको आधार हुने स्पष्ट गरे। “हाम्रो पार्टीमा जसको दस्तावेज पास हुन्छ, उही नेता हुन्छ,” भन्दै उनले जनाए, “अहिलेसम्म प्रचण्डको विकल्पको दस्तावेज कसैले पेस गरेको छैन, गर्न सक्ने आँट पनि देखिएको छैन।”
उनका अनुसार हाल पार्टी उपमहासचिव जनार्दन शर्माले पनि वैकल्पिक दस्तावेज होइन, केवल सुझावहरू मात्र राखेका हुन्।
प्रचण्ड नेतृत्व सर्वसम्मत:
पार्टीको आठौं महाधिवेशनमा प्रचण्डको नेतृत्वमा कसैले चुनौती दिन नसकेपछि सर्वसम्मत चयन भएको उनले बताए। नेतृत्व कसैलाई ‘दिने’ भन्ने संस्कार माओवादीमा नरहेको उनले स्पष्ट गरे।
नेता प्रधानले एमालेको आलोचना गर्दै त्यसले कम्युनिष्ट सिद्धान्त र पद्धति अवलम्बन नगर्ने दाबी गरे। “एमाले संसद्वादी शैलीमा मात्र नेतृत्व परिवर्तन गर्छ,” उनले भने, “उनीहरू कम्युनिष्ट पार्टीजस्तो व्यवहार गर्दैनन्।”












