आरोग्य पर्यटन प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार हुँदै – Sagarmathapana:: Online News Portal

आरोग्य पर्यटन प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार हुँदै

   २०८२ श्रावण १५ गते  

काठमाडौं-राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठकले नेपालमा आरोग्य (वेलनेस) पर्यटनको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा सिंहदरबारमा बसेको उक्त बैठकले दीर्घकालीन र समावेशी पर्यटन विकासको लक्ष्यसहित नीतिगत संरचना निर्माणको पहल थालिएको जानकारी दिएको छ।

बैठकले विभिन्न मन्त्रालय, निकाय, शैक्षिक संस्था र संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित १३ सदस्यीय उपसमिति गठन गरेको छ। उपसमिति पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ भने संस्कृति मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाका उपसचिव सदस्य सचिव रहनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल पर्यटन बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, होटल एसोसिएसन नेपाल, नेपाल स्पा एण्ड वेलनेस एसोसिएसन लगायतका निकायका प्रतिनिधिहरू सदस्यको रूपमा सहभागी हुनेछन्।



बैठकमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका पर्यटनमन्त्रीहरू, अन्य प्रदेशका प्रतिनिधि र परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले पर्यटन नीति, २०८२ को कार्यान्वयनलाई प्राथमिकता दिने निर्णय समेत गरेको छ।

हालै स्वीकृत पर्यटन नीतिमा पर्यटन गन्तव्यको विविधिकरणसँगै ध्यान, योग, प्राकृतिक उपचार र आरोग्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै उक्त क्षेत्रको सम्भावनालाई समृद्ध बनाउने रणनीति तय गरिएको बताइएको छ।

सरकारको यो निर्णयले नेपालमा नयाँ रूपमै उदाउँदै गरेको आरोग्य पर्यटनको नीति निर्माण र प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै