शिवांशः च्याप्टर १’ को छायांकन सम्पन्न,तेज गिरी एक्सन अवतारमा देखिँदै – Sagarmathapana:: Online News Portal

शिवांशः च्याप्टर १’ को छायांकन सम्पन्न,तेज गिरी एक्सन अवतारमा देखिँदै

   २०८२ श्रावण १५ गते  

काठमाडौं-नेपाली कथानक चलचित्र ‘शिवांशः च्याप्टर १’ ले आफ्नो सम्पूर्ण छायांकन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। तेज गिरी र बिमला लिम्बुको मुख्य अभिनय रहेको चलचित्रको अन्तिम गीत ‘उकुस मुकुस’ को छायांकनसँगै ३६ दिने सुटिङ तालिका सम्पन्न भएको निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रको अधिकांश छायांकन पोखराको सुरम्य क्षेत्र पेरिफेरीमा गरिएको थियो भने काठमाडौंमा एक गीतको मात्र छायांकन गरिएको थियो। चलचित्रको अन्तिम दृश्य पोखराको पामेमा खिचिएको थियो।

‘शिवांशः च्याप्टर १’ अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको छ। चलचित्रका निर्माता अन्जन केसीले कथा लेखन पनि आफैं गरेका छन्। सह-निर्मातामा शोभा केसी र अनिशा केसी बोगटी छन्।

निर्देशक सन्तोष आत्रेयको निर्देशनमा यो चलचित्र डेब्यु प्रोजेक्ट हो। मुख्य भूमिकामा तेज गिरी, बिमला लिम्बु, प्रवीण खतिवडा, रुशा न्यौपाने र विकास जोशी रहेका छन्। तेज गिरी यसपटक प्रेमी छविबाट बाहिरिँदै एक्सन अवतारमा देखिनेछन्, जसलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ।

चलचित्रको गीत–संगीत पक्षमा पनि सशक्त टिम रहेको छ। संगीतकार राजनराज शिवाकोटी र न्ह्यु बज्राचार्यको संगीतमा तयार गीतहरूमा राजनराज शिवाकोटी र विप्लव प्रतीकको शब्द छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको छ।

चलचित्रमा कोरियोग्राफी विक्रम चौहान, द्वन्द्व निर्देशन मिलन श्रेष्ठ र छायांकन शरद महतोले गरेका छन्।

‘शिवांशः च्याप्टर १’ यही असोज २४ गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै