नेपालकै सबैभन्दा ठूलो अटो एक्स्पो : ३५ नयाँ सवारीसाधन सार्वजनिक हुँदै – Sagarmathapana:: Online News Portal

नेपालकै सबैभन्दा ठूलो अटो एक्स्पो : ३५ नयाँ सवारीसाधन सार्वजनिक हुँदै

   २०८२ श्रावण १४ गते  

काठमाडौं-नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (NAIMA) द्वारा आयोजना गरिने “NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५” को पत्रकार सम्मेलन सोमबार राजधानीमा सम्पन्न भयो।

कार्यक्रममा NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले कार्यक्रम सञ्चालन गरेका थिए भने अटो एक्स्पो समिति सदस्य गौरव सरडाले स्वागत मन्तव्य दिँदै एक्स्पोको विशेषता, उद्देश्य र भावी योजनाबारे प्रकाश पारे। उनले पत्रकार, प्रायोजक, सदस्यहरू र साझेदारहरूप्रति आभार व्यक्त गरे।


सोाल्टी होटलको सुर–सुधा हलमा आयोजित पत्रकार सम्मेलनमा अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले विस्तारमा जानकारी दिएका थिए। उनले यो संस्करणको एक्स्पो भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिँदै त्यहाँको पूर्वाधार—जस्तै ढल निकास प्रणाली तथा अपांगमैत्री पहुँचमा सुधार गरिएको बताए।

उनका अनुसार यस एक्स्पोमा नयाँ प्रविधि र सवारी मोडेलहरूको अनावरण गरिनेछ। यसपालि १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा व्यावसायिक सवारीसाधनको सार्वजनिक प्रदर्शन हुनेछ।

कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन गुप्ताले एक्स्पोको साझेदार बन्न पाएकोमा खुशी व्यक्त गरे। उनीहरूले दीर्घकालीन रूपमा दिगो र प्रविधिमैत्री यातायात प्रणाली निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।


मुख्य प्रायोजक एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्सबाहेक अन्य प्रमुख साझेदारमा टिकटिङ पार्टनर IME को खल्ती, पेय पदार्थ पार्टनर माउन्टेन ड्यू, ब्रुयिङ पार्टनर हिमालयन जाभा, राइड पार्टनर पठाओ, सुरक्षा साझेदार HikVision, इन्टरनेट साझेदार वर्ल्डलिंक, हस्पिटालिटी पार्टनर सोल्टी होटल, चिकित्सा साझेदार फ्रन्टलाइन अस्पताल, टेलिकम पार्टनर एनसेल, र व्यवस्थापन साझेदार मिडिया स्पेस सोलुसन रहेका छन्।

प्रायोजक कम्पनीहरूले आगन्तुकहरूका लागि विशेष व्यवस्था मिलाएका छन्। पठाओले भृकुटीमण्डप जाने यात्रामा ३०% सम्मको छुट दिनेछ। फ्रन्टलाइन अस्पतालले २४ घण्टा एम्बुलेन्स सेवा, आकस्मिक र साधारण स्वास्थ्य सेवा प्रदान गर्नेछ।

NAIMA ले एक्स्पो सन्दर्भमा एउटा अनलाइन प्रतियोगिता पनि सुरु गरेको छ। साउन २१ गतेसम्म एक्स्पो सम्बन्धित उत्कृष्ट भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक जनालाई रु. १ लाख नगद पुरस्कार प्रदान गरिनेछ। त्यसपछि साउन २२ देखि २६ भित्र अपलोड गरिएका उत्कृष्ट १० वटा भिडियोलाई रु. १० हजार नगद पुरस्कार दिइनेछ।

कार्यक्रमको अन्त्यमा NAIMA अध्यक्ष रितु सिंह वैद्यले सबै साझेदार, मिडिया र सहभागीप्रति आभार व्यक्त गर्दै “NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्ने दाबी गरिन्। उनले पाँचै दिन विभिन्न प्यानल छलफलहरू आयोजना हुने जानकारी दिइन्, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुनेछन्।

एक्स्पोको पहिलो दिन, अनिल केशरी शाहले “मोबिलिटी – हिजो, आज र भोलि” शीर्षकमा दिउँसो २ बजे देखि ५ बजेसम्म विशेष सत्र सञ्चालन गर्नेछन्। आगामी दिनहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, तथा भारतको Institute of Road Traffic Education का प्रतिनिधिहरू सहभागी हुनेछन्।

NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ साउन २२ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ, जहाँ ५० भन्दा बढी अटो ब्राण्डहरू सहभागी हुनेछन्। टिकट IME को खल्ती एप मार्फत उपलब्ध छन्।

यसै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र CTEVT को सहकार्यमा टिकट बिक्री रकमको ५ प्रतिशत मोबिलिटी क्षेत्रमा अनुसन्धान र छात्रवृत्तिका लागि छुट्याइने छ, जसबाट देशभरिका योग्य विद्यार्थीहरू लाभान्वित हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै