फिल्म ‘नाकछोङ (बिजुवा)’यूकेमा विशेष प्रदर्शन, विश्वभर प्रदर्शन तय – Sagarmathapana:: Online News Portal

फिल्म ‘नाकछोङ (बिजुवा)’यूकेमा विशेष प्रदर्शन, विश्वभर प्रदर्शन तय

   २०८२ श्रावण ७ गते  

काठमाडौँ–नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत जीवनशैलीलाई उजागर गर्ने फिल्म ‘नाकछोङ (बिजुवा)’ को विशेष प्रदर्शन बेलायतको केन्टस्थित ‘द आसफोर्ड सिनेमा’मा सम्पन्न भएको छ। २० जुलाईमा आयोजित उक्त कार्यक्रममा स्थानीय नेता, व्यवसायी, यूके निवासी नेपाली समुदायका प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

फिल्मको विशेष शोमा निर्माता ज्योतिराज राईको पनि सहभागिता थियो। दर्शकहरूले फिल्मको कथा, प्रस्तुती र समग्र निर्माण पक्षको खुलेर प्रशंसा गरेका थिए। निर्माता राईका अनुसार, “फिल्म हेरेपछि धेरैले मौलिकता बोकेको कथा मन परेको प्रतिक्रिया दिनुभयो।”

फिल्मको यो शो किरात राई यायोक्खा प्रा.का.स. आसफोर्ड को आयोजनामा सम्पन्न भएको हो। अब फिल्म बेलायतस्थित किरात राई यायोक्खाका सत्रवटै प्राका स मार्फत क्रमशः प्रदर्शन गरिनेछ।

निर्माता ज्योतिराज राईका अनुसार, फिल्म नाकछोङ (बिजुवा) लाई युरोपका पाँच स्थान, साथै हङकङ, कोरिया, अस्ट्रेलिया, जापान, सिंगापुर, ब्रुनाई, मलेसिया लगायत देशहरूमा समेत विशेष प्रदर्शनका लागि मिति तय भइसकेको छ

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सुस्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, विनोद पोमो, ससिता राई रसा लिम्बु, बाल कलाकार जेशन राई लगायतको सशक्त अभिनय रहेको छ।

फिल्मको निर्देशन किरण राईले गरेका हुन्, जसले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरिसकेका छन्। फिल्मको लेखन पनि किरणकै रहेको छ। निर्माता पोपीराज राई र छायांकन बाबु श्रेष्ठको रहेको यस फिल्ममा संगीत दिनेशकाजी बान्तवा, अनिल कोई राईले दिएका छन् भने गीतमा नोगेन लिम्बु र परेस राईको स्वर रहेको छ।

पटकथा सम्पादन निर्देशक किरण राई र निर्माता ज्योतिराज राईले मिलेर गरेका हुन्। कार्यकारी निर्माता रमु श्रेष्ठ, सह–निर्देशक बारत लिम्बु, पार्श्व संगीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन सागर अर्याल तथा निर्माण नियन्त्रक गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन्।

फिल्म नाकछोङ (बिजुवा) नेपाली जनजीवन, संस्कृति र पहिचानको कथा बोकेर विश्वभर प्रदर्शन हुने तयारीमा छ। राई समुदायको अध्यात्म, परम्परा र समाजशास्त्र समेटिएको यो फिल्मले अन्तर्राष्ट्रिय दर्शकसमक्ष नेपाली मौलिकतालाई प्रभावशाली रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै