कोशेढुंगा’ चलचित्रको तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ सार्वजनिक, अन्तर्राष्ट्रिय स्तरमा एकैपटक ४३ देशमा रिलिज हुँदै
काठमाडौं।आगामी १२ भदौमा रिलिज हुन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘कोशेढुंगा’ को नयाँ तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ सार्वजनिक गरिएको छ। सोमबार राजधानी काठमाडौंमा आयोजित एक भव्य समारोहबीच उक्त गीतको भिडियो सार्वजनिक गरियो। सेभेन सिज इन्टरनेसनलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको यो गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चित बन्ने सङ्केत देखिएको छ।
गीतलाई चर्चित गीतकार नेत्र अर्यालले लेखेका हुन् भने संगीत खेम सेन्चुरीले तयार पारेका छन्। स्वरमा खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको साथ रहेको छ।
भिडियोको विशेषता भनेको यसमा अविवाहित र विवाहित महिलाहरूको फरक अनुभूति र शैलीलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। सुरक्षा पन्त र नीति शाह अविवाहित महिलाको उत्साह दर्शाउँदा, ऋचा शर्मा विवाहित पात्रको भूमिकामा चम्किएकी छिन्। नव अभिनेता मन्जिल कुमार, दिनेश काफ्लेलगायत कलाकारहरूको नृत्यले भिडियोलाई अझ आकर्षक बनाएको छ।
गीत सार्वजनिकसँगै निर्माण टिमले ‘#नत्र_भने_जिन्दगी_व्यर्थ_छ’ ह्यासट्यागसहित टिकटक प्रितस्पर्धाको घोषणा गरेको छ। प्रतियोगिता अगस्ट २० सम्म खुला रहनेछ।
उत्कृष्ट प्रदर्शनलाई रु ३०,०००,
सबैभन्दा क्रिएटिभ भिडियोलाई रु २०,०००
र सबैभन्दा धेरै लाइक पाउने भिडियोलाई रु १०,००० पुरस्कार स्वरूप प्रदान गरिनेछ।
चलचित्रको निर्देशन सरोज पौडेलले गरेका छन्, जसले यसअघि ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका थिए।
नरदेवी फिल्मस्को प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको यो चलचित्रमा सुरक्षासँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रविण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायत कलाकारहरूको दमदार अभिनय रहनेछ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का, निर्माताहरू प्रेविल कँडेल र किशोर अनुराग हुन्। छायांकन बाबु श्रेष्ठले गरेका छन् भने सम्पादन नहकुल खड्काको रहेको छ। संगीतमा आशिष अविरल र रिदम कँडेलको टिम छ।
‘कोशेढुंगा’ नेपाली सिनेमाको इतिहासमा पहिलो पटक नेपालसहित ४३ देशमा एकसाथ प्रदर्शनमा आउने चलचित्र बन्नेछ। चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले लिएको छ।
यसरी, तीजको माहोलमा ल्याइएको ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ गीतले चलचित्रप्रति उत्सुकता थप बढाएको छ भने चलचित्र ‘कोशेढुंगा’ ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाई दिने अपेक्षा गरिएको छ।












