श्रावण_सुमङ्गल: गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको घुइँचो – Sagarmathapana:: Online News Portal

श्रावण_सुमङ्गल: गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको घुइँचो

   २०८२ श्रावण ५ गते  

काठमाडौं-आज श्रावण महिनाको पहिलो सोमबार। हिन्दू धर्मावलम्बीहरूका लागि यो विशेष दिन, भगवान् शिवको आराधनाको लागि अति महत्वपूर्ण मानिन्छ। सोमबार शिवजीको वार र साउन महिनालाई शिवको प्रिय महिना मानिँदै आएकाले आज गोकर्णेश्वर मन्दिरमा श्रद्धालु तथा व्रतालुको ठूलो भीड देखिएको छ।

साउनको सोमबार विशेषगरी “आशुतोष” अर्थात् सजिलै प्रसन्न हुने भगवान् शिवलाई जल, दूध, बेलपत्र, धतुरो, फूल, र माला अर्पण गर्दै पूजा गरिन्छ। श्रद्धालुहरूले शिवलिङ्गमा जल चढाएर व्रत बस्ने, शिव चालीसा, मंत्र जाप र आरती गर्ने परम्परा आज पनि जीवितै देखिएको छ।

गोकर्णेश्वर मन्दिर परिसर बिहान सबेरैदेखि श्रद्धालुहरूंको घुइँचोले भरिएको छ। व्रतालुहरू हरियो पहिरन, पूजा सामग्री र प्रसादसहित दर्शनका लागि लामबद्ध देखिए। कतिपय भक्तजनहरूले शिव पुराण पाठ गर्दै, कतिपयले परिवारको सुख, समृद्धि र रोग नलागोस् भनेर व्रत गरेका छन्।

मन्दिर परिसरमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति, श्रद्धालुको व्यवस्थापनका लागि स्वयम्‌सेवक टोली परिचालन गरिएको देखिएको छ।

साउन महिनाका सोमबारहरू नेपाली समाजमा धार्मिक आस्था, आन्तरिक शुद्धता र शिवप्रेमको प्रतीक बनेका छन्। विशेषगरी युवायुवतीदेखि वृद्धसम्मले आस्था सहित साउन सोमबार व्रत बस्ने परम्परा झनै गहिरिँदो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै