जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न – Sagarmathapana:: Online News Portal

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न

   २०८२ श्रावण ४ गते  

काठमाडौंसामाजिक सचेतना जनस्वास्थ्य प्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसहित जनकपुरधाममा एक भव्य ‘जनकपुर वाक’ कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेश प्रहरी, मिथिला वारियर्स क्रिकेट टिम र परिक्रमा सामुदायिक सेवा केन्द्र जनकपुरधामको संयुक्त आयोजनामा आयोजना गरिएको वाक मार्च रामानन्द चौकदेखि जानकी मन्दिर हुँदै गंगासागर तटसम्म निकालिएको थियो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाशंकर चतुर्वेदी, प्रदेश सांसद राम अशीष यादव, मिथिला वारियर्सका अध्यक्ष तथा छाला तथा सौन्दर्य विशेषज्ञ डा. प्रसन्न झा, र परिक्रमा सामुदायिक सेवा केन्द्रका संयोजक रणजीत राय लगायत समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सयौं स्थानीय नागरिक, सुरक्षाकर्मी, विद्यार्थी, महिला समूह, समाजसेवी र पत्रकारहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले जनकपुरबासीहरूमा सुरक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति जागरूकता बढाएको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको समापन गंगासागर तटमा आयोजित विशेष समारोहमार्फत गरिएको थियो। सो अवसरमा डा. प्रसन्न झा ले प्रहरीका जवान तथा अधिकृतहरूलाई स्वस्थ जीवनशैली र मानसिक सन्तुलनको महत्वबारे जानकारीमूलक सम्बोधन गर्नुहुँदै, “सशक्त शरीर र सकारात्मक सोच सुरक्षाकर्मीको मेरुदण्ड हो,” भन्ने सन्देश दिए।

त्यस्तै, डिआईजी चतुर्वेदी ले नागरिक समाज र सुरक्षाकर्मीबीचको सहकार्यले सामाजिक रूपान्तरणमा बलियो प्रभाव पार्ने बताउँदै, “यस्ता कार्यक्रमहरू समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्ने सेतु बन्न सक्छन्,” भन्ने धारणा राखे।

सांसद राम अशीष यादव ले कार्यक्रमको प्रशंसा गर्दै, “शान्ति, सद्भाव र सहिष्णुताका लागि प्रहरी र नागरिक समाजको संयुक्त पहलकदमी अत्यन्त प्रेरणादायी छ,” भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।

‘जनकपुर वाक’ ले न केवल स्वास्थ्य र सामाजिक चेतना फैलाउने काम गरेको छ, तर सुरक्षाकर्मी र नागरिकबीच सहकार्य र विश्वासको नयाँ उदाहरण पनि प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै