वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, राष्ट्र बैंकको मौद्रिक नीतिको प्रभाव देखिँदै – Sagarmathapana:: Online News Portal

वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, राष्ट्र बैंकको मौद्रिक नीतिको प्रभाव देखिँदै

   २०८२ असार ३२ गते  

काठमाडौं—नयाँ आर्थिक वर्ष २०८२/०८३ को सुरुवातसँगै देशका अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकहरूलाई ब्याजदर समायोजन गर्न प्रेरित गरेको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमा नीतिगत दर ५ बाट ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत, र स्थायी निक्षेप संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेको घोषणा गरेको थियो। यसका साथै, असार महिनामा मात्र पुँजीगत खर्चको ३२ प्रतिशत खर्च भइसकेपछि बैंकहरूमा तरलता पर्याप्त रहेको विश्लेषण गरिएको छ।

ब्याजदरमा व्यापक गिरावट

बुधबार सार्वजनिक गरिएको ब्याजदर तालिकाअनुसार, असार महिनाको तुलनामा साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेर ५.९०२ बाट ५.६८७ प्रतिशतमा झरेको छ।

१४ वटा बैंकले ब्याजदर घटाएका छन्, ४ वटा बैंकले पुरानै दर कायम राखेका छन् भने २ वटा बैंकले ब्याजदर थोरै बढाएका छन्।

ब्याजदर घटाउने प्रमुख बैंकहरू:

कृषि विकास बैंक: ५.४५% बाट ५.४०%

एभरेस्ट बैंक: ६.५५% बाट ६.२५%

प्रभु बैंक: ६.१०% बाट ४.२५% (सवैभन्दा बढी गिरावट)

एनआईसी एशिया: ६.५५% बाट ६.२५%

राष्ट्रिय वाणिज्य बैंक: ६.००% बाट ५.५०%

सानिमा बैंक: ६.३३% बाट ६.१८%

ब्याजदर स्थिर राख्ने बैंकहरू:माछापुच्छ्रे बैंक,ग्लोबल आईएमई बैंक,एनएमबी बैंक,सिद्धार्थ बैंक

ब्याजदर वृद्धि गर्ने बैंकहरू: हिमालयन बैंक: ०.५ प्रतिशतले वृद्धि,स्टान्डर्ड चार्टर्ड बैंक: ०.०१ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको नीति तथा सरकारी खर्चको प्रवाहले तरलता अभिवृद्धि भई वाणिज्य बैंकहरू ब्याजदर घटाउन बाध्य भएका छन्। निकट भविष्यमा पनि बजारमा तरलता कायम रहे ब्याजदर अझै घट्न सक्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै