गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक छ: मुख्यमन्त्री कँडेल – Sagarmathapana:: Online News Portal

गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक छ: मुख्यमन्त्री कँडेल

   २०८२ असार ३२ गते  

काठमाडौं।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्यका लागि भूमिको स्वामित्व आवश्यक रहेको बताएका छन् ।

भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रममा उनले जग्गाको स्वामित्व नभएको व्यक्तिले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै त्यही कारण सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको उल्लेख गरे ।

मख्यमन्त्री कँडेलले भूमिहीन तथा अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको बताए । “हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ”, उनले भने, “आगामी दिनमा क्रमशः भूमिहीन र सुकुम्बासी परिवारलाई प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिनेछौँ ।”

मुख्यमन्त्री कँडेलले चौकुने गाउँपालिका वडा नं ७ र ८ का १०४ जना भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरे ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षहरू, सरोकार भएका निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै