मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा, राहत प्याकेजको तयारी
जनकपुर-मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मौसममा आएको चरम असन्तुलन र असामयिक वर्षाका कारण धान रोपाइमा देखिएको समस्या र रोपिएको खेतमै देखिएको चिरा फाट्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार वर्षा नभएकाले प्रदेशका अधिकांश जिल्लामा कृषकहरू संकटमा परेका छन्। यस्तो अवस्थामा किसानलाई राहत दिन र दीर्घकालीन समाधान खोज्नका लागि सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपरेको उनको भनाइ छ।
बैठकले कृषकहरूलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन संघीय सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेको छ। साथै, कृषि क्षेत्रमा सक्रिय दातृ निकायहरूलाई पनि सहयोगको आह्वान गरिएको छ।
यसबाहेक, बैठकले पर्साको वीरगञ्जसहित मधेसका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय पनि गरेको छ। संघीय खानेपानी मन्त्रालयसँग समन्वय गर्दै ट्याङ्कर लगायतका विकल्पमार्फत पानी आपूर्ति गर्ने तयारी पनि भइरहेको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ।
संक्षेपमा निर्णयहरुःमधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा,किसानका लागि विशेष राहत प्याकेजको सिफारिस,कृषि दातृ निकायलाई सहयोगका लागि आह्वान,वीरगञ्ज लगायत जिल्लामा खानेपानी आपूर्तिका लागि स्रोतसाधन परिचालन,संघीय खानेपानी मन्त्रालयलाई आवश्यक सहयोग गर्न आग्रह
सुक्खा र पानीको संकटसँग जुध्न प्रदेश सरकारले चालेका यी कदमहरू मधेसवासीका लागि आशाको संकेत हुन्।












