बौद्धबाट १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ, हुण्डीको आशंका
काठमाडौँ— राजधानीको बौद्धबाट स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पक्राउ पर्ने व्यक्ति वाङ जियान रहेका छन् ।
सोमबार साँझ बौद्धको नयाँ बस्तीस्थित एक कोठामा प्रहरी टोलीले छापा मार्दा वाङको साथबाट १ करोड ४४ लाख रुपैयाँ फेला परेको हो । प्रहरी परिसर काठमाडौँ र बौद्ध प्रहरी वृत्तको संयुक्त टोलीले गुप्त सूचनाको आधारमा छापा मारेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी अपिलराज बोहराका अनुसार, उक्त रकमको स्रोत नखुलेको र प्रारम्भिक अनुसन्धानबाट यो रकम हुण्डी कारोबारमा संलग्न हुन सक्ने आशंका गरिएको छ । “हामीले वाङलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएका छौँ,” एसपी बोहराले बताए ।
वाङको नेपाल बसाइ, कारोवार तथा सम्पर्क सञ्जालसम्बन्धी विवरण संकलनको काम भइरहेको प्रहरी स्रोतले जनाएको छ । स्रोत नखुलेको ठूलो रकमसहित विदेशी नागरिकको पक्राउ परेका घटना पछिल्लो समय बढ्दै गइरहेका छन् ।
यस घटनाले राजधानीमा सक्रिय अवैध आर्थिक कारोबारमाथि थप प्रश्न उठाएको छ । प्रहरीले हुण्डीसँग सम्बन्धित अन्य संलग्न पक्षहरुको खोजी कार्य पनि तीव्र बनाएको छ ।












