धरानमा एमाले भित्रै खैलाबैला : वडाध्यक्ष धनबहादुर राईको बर्खास्ती सिफारिस – Sagarmathapana:: Online News Portal

धरानमा एमाले भित्रै खैलाबैला : वडाध्यक्ष धनबहादुर राईको बर्खास्ती सिफारिस

   २०८२ असार २१ गते  

धरान।धरान उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राई राजनीतिक घेराबन्दीमा परेका छन्। नेकपा (एमाले) धरान नगर कमिटीले राईलाई पदमुक्त गर्न सिफारिस गरेपछि स्थानीय राजनीतिमा तरंग पैदा भएको छ।

एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार, वडाध्यक्ष राईले पार्टी हितविपरीत गतिविधि गर्दै आएको र पार्टीको निर्देशनलाई बारम्बार अवज्ञा गरेको आरोप छ। “पार्टी बैठक र कार्यपालिका बैठकमा अनुपस्थित रहनु, पार्टीले गरेका आह्वानलाई बेवास्ता गर्नु, र नेताहरूको पटक–पटकको सम्झाइलाई नमान्नु उनका व्यवहारका उदाहरण हुन्,” उपाध्यक्ष पारसले बताए।

२०७९ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका राई पछिल्लो समय मेयर हर्क साम्पाङद्वारा सञ्चालन गरिएको श्रमदानमा समेत खुलेर सहभागी भएपछि विवादको घेरामा तानिएका हुन्। पार्टीले तीन पटक स्पष्टीकरण माग्दा समेत चित्त बुझ्दो जवाफ नआएको भन्दै उनलाई बर्खास्तीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने जनाएको छ।

एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पर्सुराम यादवका अनुसार, कारबाही अघि बढाउन राईलाई अन्तिम पटक पार्टी कार्यालयमा बोलाइनेछ। “पार्टी अनुशासन पालना नगर्ने जुनसुकै नेता वा जनप्रतिनिधिलाई संगठनले गम्भीरतापूर्वक लिन्छ,” यादवले भने।

धरानको राजनीतिक वृत्तमा वडाध्यक्ष राईको बर्खास्ती सिफारिसलाई पार्टीभित्रको असन्तुलन र बढ्दो आन्तरिक खिचातानीको संकेतका रूपमा हेरिएको छ। यस घटनाले एमालेको आन्तरिक एकता र अनुशासनमा थप बहस जन्माएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै