यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक, नेपाली भाषा र संस्कृतिको कथा
काठमाडौँ।राजधानीमा आयोजित एक भव्य कार्यक्रममा शुक्रबार बहुप्रतिक्षित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रले नेपाली भाषा, साहित्य, कला र इतिहासको महत्वलाई उजागर गर्ने प्रयास गरेको छ।
कार्यक्रममा निर्देशक मित्र प्रधान ले चलचित्र नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिप्रति प्रेम र जिम्मेवारी जगाउन निर्माण गरिएको जानकारी दिए। उनले भने, “नेपाली भाषा, संस्कार र संस्कृतिको संरक्षणका लागि संघर्षको कथामा आधारित यो चलचित्र हरेक नेपालीका लागि प्रेरणादायी हुनेछ।”
चलचित्रका निर्माता तथा कलाकार रोशन श्रेष्ठ ले चलचित्रले नेपाली मनमा गर्व थप्ने बताए। विजय बराल ले चलचित्र फरक धारको भएको र यसले नेपाली कला र साहित्यलाई जोड्ने दाबी गरे। कलाकार विल्सन विक्रम राई ले कथासँग मेल खाने गीत लेखेको जानकारी दिँदै चलचित्र उत्कृष्ट बनेको बताए। चलचित्रकी नायिका आयुषा समाल ले विदेशमा बसेर पनि नेपाली भाषा जोगाउन आफूले गरेको प्रयास चलचित्रमा झल्किएको बताइन्।
असार २७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भण्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारको अभिनय रहेको छ।
इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, बनिश शाहको सम्पादन र सिजिआई सत्यम राना को रहेको छ।
चलचित्रमा संगीत दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राई को रहेको छ भने गीतका शब्द दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र अनिश अधिकारी (खैजडी गीत) ले लेखेका छन्। चलचित्रलाई आर आर फिल्मस ले वितरण गर्दैछ।












