नेपाल स्वास्थ्य विज्ञानको सुरुवात भएको भूमि हो : प्रधानमन्त्री ओली
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई स्वास्थ्य विज्ञानको प्रारम्भिक भूमि भन्दै यस क्षेत्रको विकासमा सरकार गम्भीर रहेको बताएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ परिषद् बैठकलाई आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक ज्ञान, विधि र प्रविधिहरुलाई आधुनिक स्वास्थ्य विज्ञानसँग जोड्दै अघि बढ्न सकिने बताए।
“यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो। हामीले यसलाई डेभलप गर्न सक्दैनौं भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजी र प्रविधिहरू आज पनि उपयोगी हुन सक्छन्। त्यसलाई लिएर अघि बढ्न सक्छौं,” प्रधानमन्त्री ओलीले भने।
उनले स्वास्थ्य संस्थाहरूलाई आर्थिक रूपमा सबल बनाउने, भौतिक पूर्वाधारको अभाव नहोस् भन्ने सुनिश्चित गर्ने र दक्ष जनशक्तिको व्यवस्थापनमा सरकारको प्राथमिकता रहेको प्रस्ट पारे। “बिरामीको संख्या कम गर्ने दिशामा पनि सरकारको ध्यान केन्द्रित छ,” उनले थपे।
प्रधानमन्त्रीको भनाइ अनुसार, परम्परागत उपचार पद्धति र आधुनिक प्रविधिको संयोजनले नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ उचाइमा पुर्याउन सकिनेछ।












