गगन थापा प्रधानमन्त्रीको भावी आकांक्षी, कोइराला परिवार एक हुने संकेत
काठमाडौं–नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले पार्टीको आगामी १५औं महाधिवेशनमा डा. शेखर कोइरालाले सभापति पदमा विजय हासिल गर्ने दाबी गरेका छन्।
कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता गौतमले कोइराला परिवार एक भएर शेखरलाई सभापति बनाउन लागिपरेको स्पष्ट पारे।
“अब बन्ने कांग्रेस सभापति शेखर कोइराला नै हो,” उनले भने, “कोइराला परिवार पनि एक ठाउँमा आउँछ। विभिन्न चरणमा संवाद, विचार–विमर्श भइरहेको छ।”
गौतमका अनुसार पार्टीका प्रभावशाली नेताहरू – महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि शेखरकै समूहमा रहनेछन्। उनले गगन–शेखर समूह अझ बलियो रुपमा अगाडि बढ्ने संकेत गरे।
“गगन–शेखर समूह इन्ट्याक रहन्छ। अरु थुप्रै साथीहरु पनि सम्पर्कमा छन्,” उनले भने।
गौतमले पार्टीको भविष्य निर्माणका लागि सरकारभन्दा पनि पार्टी संगठन प्रमुख रहेको बताउँदै भने, “सरकारभन्दा पार्टी मेजर हो। हामी पार्टी निर्माण गर्न चाहन्छौं। समग्र कांग्रेस निर्माण नगरेसम्म पार्टीलाई कम्युनिष्टको पछि लगाइरहनु पर्छ।”
गौतमका यी अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्वको नयाँ समीकरण र भावी रणनीति स्पष्ट हुँदै गएको संकेत गरेको छ। शेखरलाई सभापति र गगनलाई प्रधानमन्त्रीको भावी आकांक्षीका रूपमा प्रस्तुत गर्नुले पार्टीभित्र नयाँ ढाँचाको लहर सुरु हुने देखिएको छ।












