रास्वपाकी सांसद सुमना श्रेष्ठको कडा आरोप : “भिजिट भिसामा घुस खाएर भागबन्डा गर्ने संरक्षकहरूको छानबिन होस्” – Sagarmathapana:: Online News Portal

रास्वपाकी सांसद सुमना श्रेष्ठको कडा आरोप : “भिजिट भिसामा घुस खाएर भागबन्डा गर्ने संरक्षकहरूको छानबिन होस्”

   २०८२ असार ७ गते  

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारमाथि तीव्र आलोचना गर्दै नेपाली युवालाई ऋण लिएर विदेश जान विवश बनाउने संरचनाको गहिरो छानबिनको माग गरेकी छन्। संसद बैठक बहिष्कारपछि पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले भिजिट भिसाको नाममा हुने मानव तस्करीमा राजनीतिक संरक्षण रहेको गम्भीर आरोप लगाइन्।

“विदेश जाने रहर होइन, बाध्यता हो। तर सरकारले किन सोच्दैन कि नेपाली युवाले किन ऋण लिएर विदेश जानुपरेको छ?” उनले प्रश्न गरिन्, “भिजिट भिसामार्फत नेपालीहरू दास जस्तै अवस्थामा पुगिरहेका छन्। अनि यति संवेदनशील विषयमा घुस लिएर ‘कति मेरो भाग?’ भनेर हिसाब गर्नेहरू पनि संरक्षित छन्। त्यस्ता राजनीतिक संरक्षणमा बसेकाहरूको छानबिन कहिले हुन्छ?”

श्रेष्ठले संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठनको माग गर्दै सरकारलाई जनताको आवाजप्रति बेवास्ता नगर्न चेतावनी दिइन्। “सांसदको कुरा नसुन्ने सरकारले जनताको पीडा कसरी सुन्छ? हाम्रो अडान जारी रहनेछ,” उनले भनिन्।

रास्वपाले संसदमा लगातार मानव तस्करी र युवाको पीडाबारे आवाज उठाउँदै आएको छ। तर श्रेष्ठले सरकारबाट निरन्तर बेवास्ता भएपछि बैठक बहिष्कार गर्नु परेको स्पष्ट पारिन्।

“यो बहिष्कार हाम्रो जिम्मेवारी हो, सरकारलाई चेतावनी दिनु आवश्यक छ,” श्रेष्ठले जोड दिइन्।

नेपालबाट भिजिट भिसाको नाममा युवाहरूलाई वैदेशिक रोजगारीमा पठाइने क्रममा अनेकौं मानव तस्करीका घटनाहरू देखिँदै आएका छन्। धेरै नेपालीहरूले विदेशमा अमानवीय अवस्था झेल्नुपरेको प्रमाणित भइसकेको छ। यसैबीच रास्वपाले यस विषयलाई संसदमा जोडदार रूपमा उठाउँदै सरकारको जवाफदेही माग गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै