बसाइँसराइले रित्तिएको गाउँमा आत्मनिर्भर कृषक परिवार: जैमिनीका पौडेल बाउछोराको उदाहरणीय संघर्ष – Sagarmathapana:: Online News Portal

बसाइँसराइले रित्तिएको गाउँमा आत्मनिर्भर कृषक परिवार: जैमिनीका पौडेल बाउछोराको उदाहरणीय संघर्ष

   २०८२ जेष्ठ २९ गते  

बागलुङ-बसाइँसराइ, बाँदरको आतङ्क र परम्परागत कृषि प्रणालीको असहज अवस्थाबीच पनि जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँमा एउटा परिवारले खेतीपाती र पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउँदै गाउँमै सम्भावनाको उज्यालो देखाइरहेको छ।

६२ वर्षीय रघुनाथ पौडेल र उनका छोरा ३३ वर्षीय राजन पौडेल पाँच वर्षदेखि गाईभैँसीपालन, मौरीपालन, घाँस खेती र दूध उत्पादनमा संलग्न छन्। बसाइँसराइका कारण रित्तिएको गाउँमा उनीहरू बाआमाले सन्तानको साथमा जीवनको नयाँ ढोका खोलिरहेका छन्।

“गाउँ रित्तियो, धेरै धन भएका सहर बजार सरे, तर हामीले गाउँमै केही गर्नुपर्छ भनेर नछोड्यौँ,” रघुनाथ पौडेलले भने, “गाईभैँसीको दूध, मौरीको मह र घाँस खेतीबाट राम्रो आम्दानी भइरहेको छ।”

हाल पौडेल परिवारसँग ६ वटा मुर्रा भैँसी, ३ गाई, ३० वटा मौरीका घार, १० रोपनी घाँस खेती, दुईवटा प्लास्टिक टनेल र तोरी पेल्ने, कुटानी–पिसानी मिल छन्। मासिक रूपमा उनीहरूले दूध बिक्रीबाट मात्रै करीब १ लाख २० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्।

बुबाको परम्परागत ज्ञानलाई आधुनिक सोचसँग जोड्दै छोरा राजनले गाउँमै व्यावसायिक कृषक बन्ने निर्णय गरेका छन्। “विदेश जान सकिन्थ्यो, तर बुबासँगै गाउँमै केही गरौँ भन्ने सोच पलायो,” उनले भने, “दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाइरहेका छौँ, भैँसी र पाडा पाडीको फार्मबाट आम्दानी र जात संरक्षण दुबै भइरहेको छ।”

राजनका अनुसार हाल फार्ममा छ वटा पाडी, एक पाडो र दुई वटा गाईका बाच्छा हुर्कंदै छन्। भविष्यमा यी सबै उत्पादनमा आउँदा व्यवसाय अझ सशक्त हुने अपेक्षा गरिएको छ।

बाँदरको आतङ्क र जनशक्ति घटेपछि धेरैले खेती छाडेका छन्, तर पौडेल परिवारले १० रोपनीमा बहुवर्षे घाँस खेती गरी पशुपालनको लागि चारा व्यवस्थापनसमेत आफैं गर्दै आएका छन्। साथै, वार्षिक १.५ क्विन्टल मह उत्पादन गरेर २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

गाउँमै बसेर उदाहरणीय आत्मनिर्भरता देखाएको यो परिवारले न केवल आफूलाई तर गाउँकै कृषि भविष्यलाई पनि उज्यालो बनाइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै