डा. कृष्ण प्रसाद तिम्सिना बने नार्कका नयाँ कार्यकारी निर्देशक,नयाँ नेतृत्वप्रति उच्च आशा
काठमाडौँ–नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को नयाँ कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तिम्सिनालाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
कार्यकारी निर्देशकका लागि १८ जनाले आवेदन दिएका थिए भने विशेषज्ञ समितिको मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याउँदै तिम्सिना पहिलो भएका थिए।
कुराकानीमा डा. तिम्सिनाले नार्कलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। “सबैसँग समन्वयमा काम गर्दै नार्कलाई नयाँ दिशा दिने मेरो उद्देश्य छ,” तिम्सिनाले बताए।
उनको नेतृत्वप्रति कर्मचारीहरु पनि उत्साहित देखिएका छन्। नार्कमा लामो समयदेखि नेतृत्वको अभाव र समन्वयको कमी देखिँदै आएकोमा तिम्सिनाको आगमनसँगै नयाँ आशा जागेको छ।
डा. तिम्सिनाले यसअघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रको प्रमुखका रुपमा काम गरिरहेका थिए। कृषि अर्थशास्त्रका विभिन्न विधामा २० वर्षभन्दा बढीको अनुभव रहेका तिम्सिनाले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २०१५ मा विद्यावारिधि (PhD) गरेका थिए। साथै, उनले अष्ट्रेलियाको चार्ल्स स्टर्ट युनिभर्सिटी र अमेरिकाको न्यू मेक्सिको स्टेट युनिभर्सिटीबाट विद्यावारिधिपछिको अनुसन्धान गरेका थिए।
विश्वका विभिन्न प्रतिस्पर्धाबाट प्राप्त छात्रवृत्तिहरू र अनुसन्धानका अनुभवले उनलाई कृषि क्षेत्रमा एक अनुभवी विज्ञ बनाएको छ। तिम्सिनाले आफूले गरेको अनुसन्धान र अनुभवलाई नेपालमा कृषि अनुसन्धानको क्षेत्रमा लागू गरेर नार्कलाई अन्तर्राष्ट्रिय स्तरको संस्था बनाउन प्रतिबद्धता जनाएका छन्।
नयाँ नेतृत्वसँगै नार्कमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।












