एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी
पोखरा। नेकपा (एमाले) गण्डकी अध्यक्षमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका नवराज शर्मा विजयी भएका छन्। उनले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए। अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन्।
उपाध्यक्षमा मीनबहादुर गुरूङले ५ सय ३४ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी बाबुराम बिश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे। सचिवमा धनञ्जय दवाडी ५ सय २० मत ल्याएर दोहोरिँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत ल्याए।
उपसचिवमा दामबहादुर बिश्वकर्माले ४९९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे। महिला उपसचिवमा मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मीना गुरूङले ३ सय ६५ मत प्राप्त गरिन्।
कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत थापा मगरले सेतोपाटीलाई बताए। ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भएको थियो।
१ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवारी कायम भएको थियो। ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।












