भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः किसानसँग विघाको ३ लाखमा जग्गा किनेर ४ करोडमा राज्यलाई बिक्री गरिएको प्रेम आलेको दाबी – Sagarmathapana:: Online News Portal

भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः किसानसँग विघाको ३ लाखमा जग्गा किनेर ४ करोडमा राज्यलाई बिक्री गरिएको प्रेम आलेको दाबी

   २०८२ बैशाख ३० गते  

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व मन्त्री प्रेम आलेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिकरण प्रकरणमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भैरहवा विमानस्थलको लागि अधिकरण गरिएको ४ सय विघा जग्गा किसानसँग प्रतिविघा ३ लाखमा खरिद गरेर विचौलियाहरुले सरकारलाई प्रतिविघा ४ करोड रुपैयाँमा विक्री गरिएको बताएका हुन् ।

‘यहाँका किसानहरुसित अघिल्लो पटक म आएर बुझ्दाखेरी ३ लाख रुपैयाँ विघामा विचौलियाले खरिद गरेको र ४ करोड रुपैँयामा सरकारलाई बिक्री गरिएको । भनेपछि कति भ्रष्टाचार भएको रहेछ ? तपाई आफैं अनुमान गर्नुस् । ३÷४ लाख रुपैयाँमा खरिद गरिएको छ । ४ करोडभन्दा बढीमा सरकारलाई विक्री गरिएको छ,’– उनले भने ।

नेता आलेले भैरहवा विमानस्थलमा व्यापक भ्रष्टाचार भएको र अहिले त्यहाँ बाख्रा, भैंसी चरिरहेको र अनावश्यक रुपमा उक्त जग्गा किनेर भ्रष्टाचार भएको दाबी गरे । उनले खोलानाला डुवान क्षेत्रको जग्गा खरिद गरेर राज्यलाई आर्थिक भारमा पारिएको बताए । सरकारको ५० अर्ब पैसा भैरहवाको एयरपोर्टमा खरिद गरेर बालुवामा पानी हालेजस्तै लगानी गरिएको उनले बताए ।

‘मैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्रेलर भनेको थिए, फिल्म चाहीँ भैरहवा भनेको थिएँ । लु हेर्नुस् यो फिल्म होइन ? जहाँसम्म तार लगाएको छ, त्यो एयरपोर्ट भइहाल्यो । यहाँ दुई जना मान्छे बराबर डुवान हुन्छ । यो अनावश्यक हो । यहाँ बाख्रा, भैसी चरिरहेको छ, माछा मारिरहेका छन् । यो जग्गाको काम नै छैन । अनावश्यक रुपमा जग्गा किनेर भ्रष्टाचार भएको छ । अब छिट्टै यसको तथ्यसत्य बाहिर आउँछ,’– उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै