नेपाल विद्युतिय व्यवसायी महासंघको १५औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न – Sagarmathapana:: Online News Portal

नेपाल विद्युतिय व्यवसायी महासंघको १५औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न

   २०८२ बैशाख २७ गते  

पोखरा । नेपाल विद्युतिय व्यवसायी महासंघको १५औँ वार्षिक साधारण सभा पोखरामा एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष रेशमलाल देवकोटाले गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनु भएको थियो भने विशेष अतिथि संविधानसभा अध्यक्ष तथा सारदा ग्रुपका अध्यक्ष पवनकुमार सारदा हुनुहुन्थ्यो।

सभामा कास्की जिल्ला अध्यक्ष केशव ढकालले स्वागत मन्तव्य दिँदै सभाको उद्देश्य र विद्युतीय व्यवसायीहरुको भूमिका बारे प्रकाश पार्नुभयो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार व्यवसायीहरुसँग सहकार्य गर्दै विद्युतिय पूर्वाधार र उर्जा व्यवसायको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्युतीय क्षेत्रमा स्वदेशी उत्पादन र स्वावलम्बनको आवश्यकता औंल्याउँदै निजी क्षेत्रलाई नीतिगत सहयोग प्रदान गरिने उल्लेख गर्नुभयो।

विशेष अतिथि पवनकुमार सारदाले वर्तमान बदलिँदो प्रविधि र उर्जाको खपतलाई ध्यानमा राख्दै व्यवसायीहरुले दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले व्यवसायीहरुले नै मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै महासंघलाई अझ प्रभावकारी रुपमा अघि बढ्न शुभकामना दिनुभयो।

अध्यक्ष रेशमलाल देवकोटाले महासंघको १५ वर्षे यात्रामा भोगिएका चुनौती, उपलब्धि र आगामी योजनाहरुको बारेमा प्रस्तुत गर्दै सबैको सहकार्यमा महासंघ अझ सशक्त रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा देशभरका विद्युतिय व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै