एयरएटक्सले नेपालमा स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु गर्यो
काठमाडौं ।भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस एयरएटक्सले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। लाजिम्पाटस्थित होटल एम्बेसडरको परिसरमा आयोजित भव्य कार्यक्रममार्फत कम्पनीले नेपाल प्रवेशको घोषणा गरेको हो।

अब नेपाली प्रयोगकर्ताहरूले अस्थायी भण्डारण, पुनःस्थानान्तरण, डेलिभरी तथा अन्य लजिस्टिक सेवाहरू डिजिटल प्लेटफर्ममार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। व्यवसाय, व्यक्तिगत प्रयोगकर्ता तथा यात्रुहरूको आवश्यकता अनुसार डिजाइन गरिएको एयरएटक्सले नेपालमा बढ्दो भण्डारण समस्याको समाधान गर्ने लक्ष्य राखेको छ। यसमार्फत सामान भण्डारण, लगेज स्टोरेज, अर्डर फुलफिलमेन्ट र स्थानान्तरण सेवा प्रदान गरिनेछ।

एयरएटक्सका संस्थापक तथा सीईओ श्री आदित्य कालेले कार्यक्रममा बोल्दै भने, “भारतीय उपमहाद्वीपमा स्टोरेज प्रमुख समस्या हो, र त्यही समस्याबाट प्रेरित भएर हामीले एयरएटक्स सुरु गरेका हौं। नेपालमा हामीले तीन महिनाअघि सेवा सुरुवात गरिसकेका छौं र हालसम्म ५०० भन्दा बढी ग्राहक प्राप्त गरिसकेका छौं।” उनले थपे, “हाल हाम्रो सेवा काठमाडौंमा मात्र सीमित छ, तर छिट्टै पोखरा र बीरगञ्जमा पनि विस्तार गर्ने योजना छ।”
श्री कालेले प्रविधिको माध्यमबाट स्टोरेज खोज्ने र दिने पक्षहरूलाई एकआपसमा जोड्ने डिजिटल प्लेटफर्मका रूपमा एयरएटक्सको भूमिका उल्लेख गरे। उनले यसले घरधनीहरूलाई अतिरिक्त आयको अवसर र उपभोक्ताहरूलाई सजिलो तथा सुरक्षित भण्डारण सुविधा प्रदान गर्ने बताए।

कार्यक्रममा नेपाली व्यवसाय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। विशेष आकर्षणको रूपमा ‘From Idea to Execution — What Makes a Startup Stand Out?’ शीर्षकमा आयोजित प्यानल छलफल रहेको थियो। उक्त छलफलमा ८८ कलेक्टिभ प्रा.लि.का संस्थापक श्री प्रतीक अर्यालले संयोजन गरेका थिए।
प्यानलमा उपाय सिटी कार्गोका संस्थापक एवं प्रबन्ध निर्देशक श्री सुमन रायमाझी, दराज नेपालका प्रमुख लजिस्टिक अफिसर श्री सन्तोष बिष्ट, मेरो स्टोरेजका सह-संस्थापक तथा प्रबन्ध निर्देशक श्री समय गिरी र एयरएटक्सका संस्थापक श्री आदित्य काले सहभागी थिए। छलफलमा श्री रायमाझीले उपाय सुरु गर्दा मानिसहरूमा लजिस्टिक सेवाको जानकारी कम रहेको तर समयसँगै जनचेतना र सेवाको माग दुवै बढेको उल्लेख गरे।
प्यानल छलफलपछि सिटीटेकका संस्थापक तथा मेरो स्टोरेजका सह-संस्थापक श्री सजन शर्मा र सिटी एक्सप्रेसका निर्देशक श्री हेम गुरुङले प्यानलिष्टहरूलाई सम्मान गरेका थिए।

एयरएटक्स
एयरएटक्स एक डिजिटल मार्केटप्लेस हो जसले भण्डारण सेवा खोज्ने र प्रदान गर्नेहरूलाई जोड्छ। यसले व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि घरमा खाली ठाउँ वा पार्किङ स्पेस भाडामा दिन वा लिन सकिने सुविधा प्रदान गर्छ। एयरएटक्सले ग्राहकको भौगोलिक तथा बजेट आवश्यकताअनुसार लचिलो र सुविधाजनक स्टोरेज समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ।












