मिथिला कला र शिल्पको प्रवर्द्धन तथा व्यावसायीकरण सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं।नीति अनुसन्धान संस्थान, काठमाडौं र अनुसन्धान केन्द्र, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामको संयुक्त आयोजनामा मिथिला कला र शिल्पको प्रवर्द्धन तथा व्यावसायीकरण सम्बन्धी नीतिगत छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रममा मिथिला क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा र कलात्मक परम्परालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने विषयमा गहन छलफल गरिएको थियो। छलफलमा जनकपुर नारी विकास केन्द्र (JWDC), मैथिल विकास कोष, जानकी महिला जागरण समाज (JWAS), मिथिलानी घर, सुनैना आटर्स लगायत मिथिला कला व्यवसायसँग सम्बन्धित संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मिथिला कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न दीर्घकालीन नीति निर्माण, निजी क्षेत्रको लगानी प्रोत्साहन, सीप अभिवृद्धिका लागि तालिम कार्यक्रम, र प्रविधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव, रजिष्ट्रार सत्यनारायण शाह लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूले आफ्ना धारणा राख्दै मिथिला कला र शिल्पलाई सशक्त नीतिगत समर्थन आवश्यक भएको उल्लेख गरे।
आयोजक संस्थाहरूका अनुसार, उक्त छलफलले मिथिला क्षेत्रका साना उद्यमी, महिला कलाकार, र हस्तकलासँग संलग्न समुदायलाई सशक्तिकरण गर्दै आगामी दिनमा प्रभावकारी नीतिगत कदम अघि बढाउने दिशामा सहयोग पुग्ने विश्वास गरिएको छ।












