नेपाल पर्यटन विकास व्यवसायी संस्थाको अध्यक्षमा सिग्देल
काठमाडौँ।नेपाल पर्यटन विकास व्यवसायी संस्थाको अध्यक्षमा अच्युत सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । संस्थाको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए । यसैगरी संस्थाको सदस्यहरुमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र रिदीप श्रेष्ठ निर्वाचित भए ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचारप्रसार एवं व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
पाँच दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैङ्ककको विमानस्थल उस्तै भएपनि अहिले बैङ्ककको विमानस्थल पर्यटक आगमनकै कारण बिस्तार भएर विश्वकै ठूलामध्येमा पर्ने बताउँदै उनले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि बिस्तार गरिनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपाललाई अन्तरराष्ट्रियस्तरमा प्रमुख गन्तव्य स्थलका रुपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको बताए ।
धर्म, संस्कृति अध्ययन सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौँ नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले उद्यम गर्न सहज वातावरणका लागि सबै एक हुनुपर्ने बताए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले मानसरोवर यात्रामा सहजीकरण भएको बताए ।
सङ्घका नवनिर्वाचित अध्यक्ष सिग्देलले पनौती, हेलम्बु, चन्द्रागिरी, नुवाकोटलगायत स्थल क्षेत्रमा धार्मिक एवं सांस्कृतिक अनुसन्धान गरिएको बताउँदै अब त्यस आधारमा गतिविधि सञ्चालन गरिने बताए ।
कार्यक्रममा पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । उत्कृष्ट हस्तकला व्यवसायीमा परम्परागत उपचार प्रशिक्षक हिमालयन ट्रेडिसनल हिलिङ एन्ड थेरापी सेन्टरका रामशरण नेपाल, उत्कृष्ट पर्यटन यातायात व्यवसायीमा नेपाल अनटाइम भेहिकल सर्भिसका केदारनाथ कट्टेल, उत्कृष्ट पर्यटन रेष्टुरेन्ट व्यवसायीमा रोयल चाइना माउन्टेन रेष्टुरेन्टका विकास थापा, उत्कृष्ट चिया व्यवसायीमा माउन्टेन टी ट्रेडका रामेश्वर महर्जन र उत्कृष्ट पथप्रदर्शकमा राजकाजी महर्जनले २०८१ सालका लागि उत्कृष्ट व्यवसायीको रुपमा सम्मानित भए ।













