फागुन ३ देखि १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता – Sagarmathapana:: Online News Portal

फागुन ३ देखि १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता

   २०८१ माघ २७ गते  

इटहरी / इटहरीमा फागुन ३ देखि १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जागृति क्लबका पदाधिकारीहरूले प्रतियोगिताबारे जानकारी दिएका छन्। यसअघि रात्रीकालीन रूपमा हुँदै आएको प्रतियोगिता यस पटक भने चिसो मौसमलाई ध्यानमा राख्दै दिउँसो खेलाइने निर्णय गरिएको छ। खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाका अनुसार विजेता टोलीलाई नगद १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिनेछ।

इटहरीमा यसअघि १० औं संस्करणसम्म स्वर्गीय दानबहादुर फुयँल गोल्डकपको रूपमा प्रतियोगिता आयोजना हुँदै आएको थियो। त्यसपछि इटहरी गोल्डकप र दुई संस्करण मदन भण्डारी मेमोरियल गोल्डकपको रूपमा सम्पन्न भएको थियो। अघिल्लो संस्करणदेखि भने पुनः इटहरी गोल्डकपकै निरन्तरता दिइएको आयोजक कोविदजंग कार्कीले बताए।

राष्ट्रिय जागृति क्लबका अध्यक्ष शन्त डुम्जनका अनुसार प्रतियोगितामा भारतको यूकेएफसी टिमसहित नेपालका मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज यूनाइटेड, काठमाडौँ, झापा एघार फुटबल क्लब, राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब, सगरमाथा युथ क्लब, धरान फुटबल क्लबको सहभागिता रहने छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी: १ लाख रुपैयाँ, प्रत्येक खेलको म्यान अफ द म्याच: १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षक: प्रत्येकलाई २० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता: २५ हजार रुपैयाँ र उदयमान खेलाडी (राइजिङ प्लेयर): एलईडी टिभी प्रदान गरिने जनाइएको छ।

प्रतियोगिता आयोजनका लागि करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि इटहरी उपमहानगरपालिका, कोशी प्रदेश खेलकुद विकास बोर्ड, राष्ट्रिय खेलकुद परिषद, स्थानीय दाता, प्रवेश शुल्क, प्रायोजक तथा सहप्रायोजकहरूबाट सहयोग रहने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै