भोटखोलाका एक महिलालाई प्रसूति व्यथा लागेको १८ घण्टापछि सेनाको हेलिकप्टरबाट उद्धार
साभार-भोटखोला खबर
संखुवासभा —भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति
व्यथा लागेको १८ घण्टापछि ३६ वर्षीया याङजम पोङसुवा लाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरिएको हो। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थानमा अझैसम्म यातायातको पहुँच पुगेको छैन।

प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य इकाइमा भर्ना भएकी याङजमलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले बताए ।
हेलिकप्टरबाट उनलाई काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताए । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ।

भौगोलिक विकटताका कारण भोटखोलामा नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन। उनीहरू सुरक्षित सुत्केरीका लागि सदरमुकाम आउनुपर्छ । जिल्लामा हवाई उद्धार कार्यक्रमअन्तर्गत वि.सं. २०७७ देखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको छ।














