गजनी भिलेन’ भनेर चिनिने अभिनेता प्रदीप रावत आज नेपाल आउने
काठमाडौं । दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावत आज आइतबार नेपाल आउने भएका छन्। हलमा प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’मा समेत अभिनय गरेका ‘गजनी भिलेन’ भनेर चिनिने अभिनेता रावत आइतबार दिउँसो ३ः५० बजे नेपाल एयरलाइन्समार्फत नेपाल आउन लागेका हुन्।
चलचित्रका निर्देशक चन्द्र पन्तले दिएको जानकारी अनुसार, रावत उनकी श्रीमतीसहित काठमाडौँ आउन लागेका हुन्।
उनी नेपाल आएर नेपाली दर्शकसँग विभिन्न हलमा पुगेर साक्षात्कार गर्ने कार्यक्रम तय भएको पन्तले नेपालखबरसँग भने।
रावतले चलचित्र ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री नीता ढुंगानाको बुवा बनेर भूमिका निभाएका छन्। शुक्रबार बाट प्रदर्शनमा आएको यस चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ।
फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।
यस चलचित्रमा दक्षिण भारतीय चर्चित कमेडि अभिनेता ब्रह्मानन्दमको पनि अभिनय छ।
हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ। ६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।
यो फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने बताइएको छ।












