हङकङ सिक्सेस क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित
काठमाडौं– हङकङ सिक्सेसमा शनिवार भएको क्वाटरफाइनल खेलमा श्रीलंकासँग पराजित हुदै नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ ।
श्रीलंकाले नेपाललाई ४० रनले पराजित गर्यो । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा अल आउट हुँदै ८३ रन बनाउन सक्यो ।
नेपालका राशिद खानले १८ बलमा १ चौका र ८ छक्काको सहयोगमा ५५ रन बनाए । लोकेश बमले ३ बलमा ६ रन बनाउँदै पहिलो ओभरमा आउट भए । सन्दीप जोरा कुनै रन जोड्न नसकी दोस्रो ओभरको पहिलो बलमा आउट भए । नारायण जोेशीले ४ बलमा १३ रन बनाए ।
श्रीलंकाका लाहिरु समराकोनले २ तथा धनन्जय लक्षन र लाहिरु मधुशंकाले समान १ विकेट लिए ।

त्यसअघि मिसन रोड मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ ओभरमा २ विकेट गुमाएर १ सय २३ रन बनायो ।
श्रीलंकाका सन्दुन विराकोडीले १४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा नट आउट ५० रन बनाए । विराकोडी रिटार्यड आउट भएपछि क्रिजमा आएका लाहिरु समराकोनले ५ बलमा १ चौका र ३ छक्काको सहयोगमा २२ रन बनाए ।
कप्तान लाहिरुले ८ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन बनाए । थानुका डबारीले ९ बलमा ३ चौकाको सहयोगमा १८ रन जोडे ।
नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले समान १ विकेट लिए । विजेता श्रीलंकाले फाइनल प्रवेशका लागि बंगलादेश र युएईबीचको विजेतासँग खेल्नेछ । नेपालले प्लेट सेमिफाइनलमा बंगलादेश र युएईबीच पराजित हुने टोलीसँग खेल्नेछ ।












