काठमाडौं।पूर्वप्रहरी महानिरीक्षक (IGP) कार्कीले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार (Special Security Advisor) पदको नियुक्तिपत्र बुझिसकेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्त भएको दिनमै नियुक्तिपत्र बुझेका हुन्। तर, त्यसपछि तिहार र छठ पर्वको लामो सार्वजनिक बिदा परेकाले उनी कार्यालयमा औपचारिक रूपमा हाजिर हुन नसकेको काफ्लेले जानकारी दिएका छन्।
मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श उपलब्ध गराउन मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्दै कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत स्थापना गरिएको छ।
यसैबीच, पूर्वIGP कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाइएको सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यसले एकातिर उनको नयाँ जिम्मेवारी र अर्कोतर्फ सरकारको निर्णयविरुद्धको कानुनी चुनौतीलाई चर्चामा ल्याएको छ।







