काठमाडौं।लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा २६ वर्षपछि फेरि चहलपहल सुरु भएको छ। वर्षौँदेखि सञ्चालनविहीन अवस्थामा रहेको उद्योगमा नेपाली सेनाले आफ्ना पोसाकका लागि आवश्यक कपडा उत्पादन गर्ने उद्देश्यसहित काम अघि बढाएको हो।
नेपाली सेनाको प्राविधिक टोलीले उद्योगमा रहेका पुराना मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याएको छ। केही मेसिनलाई आधुनिक तथा स्वचालित प्रविधिमा रूपान्तरणसमेत गरिएको छ।
हाल उद्योगमा परीक्षण उत्पादन भइरहेको छ। सेनाले आफ्नै पोसाकका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्ने लक्ष्यसहित उद्योगलाई पुनः सञ्चालनको प्रक्रियामा अघि बढाएको हो।
लामो समयदेखि बन्द रहेको उद्योगमा पुनः उत्पादन सुरु हुनुलाई औद्योगिक क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। यसले स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा बन्द उद्योगहरूको पुनः उपयोगको सम्भावनालाई समेत उजागर गरेको छ।







