काठमाडौं।थारु महिला सभा उपत्यका समितिले यस वर्षको जितिया पर्व काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा मनाउने भएको छ।
सभाका अनुसार आगामी असोज १८ गते आइतबार बिहान ११ बजे कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारु प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

देशमा पछिल्लो समय देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष जितिया पर्वलाई विगतको तुलनामा फरक स्वरूपमा मनाउने तयारी गरिएको थारु महिला सभाले जनाएको छ।
विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा मौनधारण गरिनेछ। साथै मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्ने तथा विपद्को पीडालाई ध्यानमा राखेर सांस्कृतिक कार्यक्रमलाई समेत सन्देशमूलक बनाइने सभाले जनाएको छ।
थारु महिला सभाका अनुसार यस वर्षको जितिया कार्यक्रमलाई केवल सांस्कृतिक उत्सवका रूपमा मात्र नभई सामाजिक जिम्मेवारी र मानवीय संवेदना अभिव्यक्त गर्ने अवसरका रूपमा मनाउने तयारी गरिएको छ।
कार्यक्रममार्फत थारु समुदायको संस्कृति, परम्परा र पहिचानलाई निरन्तरता दिँदै विपद्को समयमा सामाजिक एकता र सहकार्यको सन्देशसमेत प्रवाह गर्ने आयोजकको भनाइ छ।




