काठमाडौं।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमुक्त गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई ‘सुरक्षित’ स्थानमा पठाइएको छ । यद्यपि, प्रहरीले उनलाई कहाँ पठाइएको हो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
जबरालाई आइतबार बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी ११ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा रहेका थिए ।
उनीविरुद्ध सामाजिक सञ्जालको ‘डिस्कर्ड ग्रुप’मा विभिन्न किसिमका अफवाह फैलिएको भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले जबराको सुरक्षालाई ध्यानमा राखेर प्रहरी कार्यालयमा ल्याइएको बताएका थिए ।
प्रहरीका अनुसार पछिल्लो समय जबराविरुद्ध विभिन्न अफवाह तथा सुरक्षा जोखिमसँग सम्बन्धित सूचना आएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको थियो ।
रिहाइपछि जबरालाई सुरक्षित स्थानमा पठाइएको भए पनि उक्त स्थानबारे प्रहरीले अहिलेसम्म औपचारिक रूपमा खुलाएको छैन ।


