काठमाडौं।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज अधिकांश संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ।
पछिल्ला दिनमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा भने अधिवेशनको मिति हेरफेर गरिएको छ। मौसम तथा स्थानीय अवस्थालाई ध्यानमा राख्दै केही क्षेत्रमा असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ।
पहाडी जिल्लाका कतिपय निर्वाचन क्षेत्रमा वर्षाका कारण सडक तथा बाटो अवरुद्ध भएपछि अधिवेशन केही दिनका लागि सारिएको छ। यद्यपि, अधिकांश निर्वाचन क्षेत्रमा भने आजै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्। कांग्रेसको व्यवस्थाअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् भने १२ जना महासमिति सदस्य निर्वाचित हुनेछन्।
त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ‘क’ र ‘ख’ दुवै क्षेत्रमा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गरिनेछ।
कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्।
अब क्षेत्रीय अधिवेशनपछि प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ। क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूले आगामी प्रदेश तथा केन्द्रीय तहका नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउनेछन्।


