मेनु
Flash News

सिक्किममा इन्द्र जात्रा उत्सवको दोस्रो दिन भव्य कार्यक्रम

सिक्किम।सिक्किमको राजधानी गान्तोकस्थित एमजी मार्गमा जारी तीनदिने इन्द्र जात्रा उत्सव–२०२६ को दोस्रो दिन विविध नेवार सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको छ।


उत्सवका क्रममा नेवार समुदायको मौलिक धिमे बाजा, परम्परागत नृत्य तथा गीत–संगीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय संस्कृति र परम्परालाई जीवन्त बनाउने विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुतीले दर्शकको ध्यान आकर्षित गरेको थियो।

दोस्रो दिनको प्रमुख आकर्षणका रूपमा सिक्किम नेवा गुठीको आयोजनामा ११० जना सहभागी रहेको सामूहिक धिमे नृत्य प्रस्तुत गरिएको थियो। उक्त सामूहिक प्रस्तुतिले इन्डिया बुक अफ रेकर्ड्समा स्थान बनाउन सफल भएको आयोजकले जनाएको छ।

इन्द्र जात्रा उत्सवले सिक्किममा रहेको नेवार समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै राज्यको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई परम्परागत संस्कृति, कला र सम्पदासँग जोड्दै भावी पुस्तासम्म मौलिक सांस्कृतिक विरासत हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।

तस्बिर: सुभास थापा(wonder traveler)